नेपाल सरकारले आगामी १ फागुनदेखि नेपाल प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार उक्त निर्णय प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। यस निर्णयसँग करिब ८० प्रहरी कर्मचारी लाभान्वित हुनेछन्।
हाल नेपाल प्रहरीका कर्मचारीले दैनिक रासन वापत काठमाडौंमा २०१ रुपैयाँ २५ पैसा पाउँदै आएका थिए, जुन अब १ फागुनदेखि २२१ रुपैयाँ ९२ पैसा पुग्नेछ । झापामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १८० रुपैयाँ ५५ पैसा पाउँथे, अब १९९ रुपैयाँ १० पैसा पाउने छन्। सबैभन्दा बढी रासन रकम हिमाली जिल्लाको हुम्लामा पाइन्छ, जहाँ प्रहरीले दैनिक ८६५ रुपैयाँ ६५ पैसा पाउँथे, अब ९५२ रुपैयाँ ३६ पैसा पाउनेछन्।
चामलको मात्रा दैनिक ६९० ग्रामबाट ७२० ग्राम पुगेको छ भने पोषण स्तर ४०३०.५ क्यालोरीबाट ४३६४ क्यालोरी पुगेको छ । यसपटक अण्डा, मासु र बिस्कुट थपिँदा नेपाल प्रहरीका कर्मचारीले अब १९ प्रकारका सामान रासनीमा पाउनेछन्।
नेपाल प्रहरीका डीआईजी अबिनारायण काफ्लेका अनुसार रासन वृद्धिले प्रहरीको दैनिक पोषण सुधार्नेछ र लामो समयदेखि उठिरहेको असमानताको समस्या समाधान हुनेछ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस वृद्धिलाई न्याय, समानता र मनोबल सुदृढीकरणको दृष्टिले महत्वपूर्ण उपलब्धि ठहराएका छन्।
नेपाल प्रहरीमा रासन वापतको रकम कर्मचारीलाई नै उपलब्ध गराउने चलन छ, जसले ब्यारेकमा खाना नखाने कर्मचारीलाई पनि लाभ पु¥याउँछ। २४ घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरीका लागि थपिएका पोषणयुक्त आइटमले कामको कार्यक्षमता र स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।





