एमालेको चुनावी घोषणापत्र फागुन पहिलो साता सार्वजनिक हुने

प्रतिनिधि सभाको चुनावका लागि नेकपा (एमाले)ले फागुन पहिलो साता निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ। 

शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण घोषणापत्र जारी गर्न ढिलाइ भएको बताए। 

‘यस पटकको चुनावमा निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरिसकेपछि प्रचारको कार्यतालिका पछाडि मात्रै दियो। त्यस अर्थमा अहिले त आन्तरिक भेटघाट मात्रै चलिराखेको छ। तर निर्वाचन प्रचार अभियान चाँही निर्वाचन आचारसंहिताका कारण सुरु हुन सकेको छैन,’ उनले भने। 

आयोगले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम पछि राखेकाले फागुन पहिलो साता ल्याउने उनले बताए। ‘हामी फागुनको पहिलो हप्तामा चुनावी घोषणा पत्र जारी गर्दछौँ। र त्यो बोकेर उम्मेदवारहरू प्रचारमा जुट्छन्,’ उनले भने। 

निर्वाचन आयोगको कार्यतालिका सुरु हुने बित्तिकै एमालेले घोषणापत्र सार्वजनिक गर्ने उनले बताए। ‘निर्वाचन आयोगको कार्यतालिकाको कारणले आफ्नो चुनावी घोषणापत्र लिएर प्रचारमा जाने समय नै सुरु भएको छैन। जति वेला समय सुरु हुन्छ, त्यतिवेला एमाले चुनावी घोषणा पत्रसहित प्रस्तुत हुन्छ,’ पोखरेलले भने। 

निर्वाचन घोषणापत्र जारी हुने बित्तिकै पार्टीका उम्मेदवार जनतामाझ पु¥याउने उनको भनाइ थियो। घोषणापत्र तयारीका लागि विज्ञहरूसँग परामर्श गरिसकेको उनले बताए।