पाँच वर्षमा ठोस नतिजा दिने गरी एमालेको घोषणापत्र आउँदैछ: ओली

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सक्ने व्यावहारिक कार्यक्रमहरू समेटेर चुनावी घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन्।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिँदै ओलीले जनताको आवश्यकता र व्यावहारिक पक्षलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार भइरहेको जानकारी दिए। उनले मुलुकको समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको ‘सुखी’ हुने चाहनालाई एमालेले पूरा गर्ने दाबी गरे।

छलफलका क्रममा अध्यक्ष ओलीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले एमाले देशको सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी भएको उल्लेख गर्दै गत भदौको राजनीतिक घटनाक्रमले राष्ट्रियता र संविधानमा पुर्‍याएको क्षतिको पुनःनिर्माण गर्न आफ्नो पार्टीले नेतृत्व लिने बताए।

राष्ट्रियता र स्वाभिमानको रक्षा समर्पणबाट मात्र सम्भव नहुने भन्दै उनले यसका लागि ‘प्रतिरोध र प्रतिरक्षा’ गरिने स्पष्ट पारे। कार्यक्रममा उपस्थित विज्ञहरूले पनि घोषणापत्र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालको हुनुपर्ने सुझाव दिएका थिए। एमालेले अध्यक्ष ओलीकै संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा कमिटी बनाएको छ, जसमा रामबहादुर थापा, विष्णु पौडेल, शङ्कर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।