भारी हिमपातका कारण मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ। हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि दर्शनार्थीहरू पुग्न सकेका छैनन्, जसले गर्दा मन्दिर क्षेत्र चकमन्न भएको हो।
बाक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथका लागि छुटेका सवारीसाधनहरू बुधबार बिहानदेखि बाटोमै रोकिएका छन्। सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छ्याएर सडक खुलाउने प्रयास गरे पनि थप हिमपात हुने सम्भावना देखिएपछि उक्त कार्य रोकिएको छ। वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार कागबेनीको पहिलो मोडदेखि सेल्फी पार्क, कालोभीर, खिङ्गा र झारकोट क्षेत्रमा हिउँ थुप्रिएको छ। सडक बन्द भएपछि कतिपय भक्तजनहरू भने कागबेनीबाटै घोडा चढेर मुक्तिनाथ गइरहेका छन्।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले हिमपातअघि दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेकोमा बुधबारदेखि यो सङ्ख्या नगण्य रहेको बताए। सडक नखुलेसम्म मन्दिरको गतिविधि नियमित पूजापाठमै सीमित रहने उनले जानकारी दिए। मंगलबार रातिदेखिको हिमपातले मुक्तिनाथ क्षेत्रका झारकोट, खिङ्गा, रानीपौवा बजार र पुराङ लगायतका गाउँहरू सेताम्मे भएका छन्।
मन्दिर परिसर, १०८ धारा र स्नानकुण्डमा हिउँ जमेकाले दर्शन गर्न पुगेका थोरै भक्तजनलाई पनि स्नान र पूजा गर्न कठिन भएको छ। अत्यधिक चिसोका कारण लेक लाग्न सक्ने जोखिम समेत बढेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कागबेनी—कोरला सडकखण्डमा पनि दुई फिटसम्म हिउँ जमेको छ। उनले मौसम खुलेमा मात्र हिउँ पग्लिएर सडक सञ्चालनमा आउन सक्ने र हिमपातले माथिल्लो मुस्ताङको जनजीवन निकै प्रभावित पारेको जानकारी दिए।




