चुनौती बन्दै बैंकिङ प्रणालीमा थुप्रिएको रकम

अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ ।

देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको संकलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा पुगेको हो । बैंकिङ प्रणालीमा लगानी गर्न सकिने करिब नौ खर्ब रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए ।



ब्याजदर न्यून तहमा कायम गरिँदा पनि पनि कर्जाको मागमा अपेक्षित सुधार आउन नसकेकाले यस क्षेत्रमा चुनौती बढेको हो । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमका कारण बैंकहरूले पनि लगानीमा कडाइ गर्दा निक्षेप थुप्रिन पुगेको हो । बजारमा चाहिनेभन्दा बढी लगानीयोग्य रकम बैंकहरूमा थुप्रिएकाले पनि अहिले पैसा भएर पनि राज्य गरिब भएजस्तो अवस्थामा पुगेको छ ।

पछिल्लो समयमा रेमिट्यान्स प्रवाहमा सुधार आएकाले निक्षेप थपिने क्रम जारी छ । निक्षेप अत्यधिक हुनुले बैंकहरू घाटामा जाने अथवा डुब्ने अवस्थामा नपुग्ने तर पुँजी वृद्धिमा समस्या हुने उनी बताउँछन् ।



उनी भन्छन्, ‘अत्यधिक निक्षेप बैंकहरूका लागि चिन्ताको विषय हो तर, बैंकहरूले विभिन्न क्षेत्रमा लगानी गरेर नाफा कमाउन सक्छन् ।’ केन्द्रीय बैंकले विभिन्न योजना तथा कार्यक्रममार्फत कर्जा प्रवाहका लागि व्यवसायीलाई उत्साहित बनाउने प्रयास गरिरहेको छ ।

राजनीतिक अस्थिरतासँगै उत्पन्न हुने अवस्था, विभिन्न समयमा आन्दोलन, छोटो समयमा हुने सरकार परिवर्तन तथा सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमजस्ता विषयले पनि केही हदसम्म बैंकका नियमित कार्य प्रभावित हुने गरेको पाइएको छ ।

यस्ता अवसरको उच्चतम् सदुपयोग गर्दै बैंक अगाडि बढ्नुपर्छ । बैंकले लगानी विस्तार गरी जनआकांक्षाअनुरूपका सेवा सुविधा प्रदान गरेर ग्राहकलाई सन्तुष्ट बनाउने कार्यले हुने वित्तीय गतिविधिले नै देशको अर्थतन्त्र चलायमान हुने गर्दछ । बैंकलाई आमनेपाली जनताले विश्वास गर्छन् ।

मुलुकभर ससाना एकाइमा छरिएको पुँजीलाई एकीकृत गरेर बैंकले विभिन्न उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरेका हुन्छन् । स्थानीय स्रोतसाधनको सही सदुपयोग गरी लघुउद्यम सञ्चालन गर्न चाहने जनतालाई बैंकले सहयोग गरिरहेको छ ।