हिउँ पन्छाएपछि कर्णाली राजमार्ग सुचारु: जुम्ला–मुगु यात्रा पुनः सहज

कर्णाली राजमार्गअन्तर्गत जुम्ला–मुगु सडक खण्डमा जमेको हिउँ हटाएपछि सवारी आवागमन पुनः सुचारु भएको छ। माघ १० गते राति परेको भारी हिमपातका कारण जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय जुम्लाले तत्काल पहल गर्दै माघ ११ र १२ गते दुई दिनसम्म जेसीबी मेसिन प्रयोग गरेर सडकमा थुप्रिएको बाक्लो हिउँ पन्छाएको थियो। हिउँ हटाएसँगै कर्णाली राजमार्गको यो महत्वपूर्ण खण्ड सञ्चालनमा आएको छ र दुई दिनदेखि बीच बाटोमै अलपत्र परेका यात्रुवाहक बस तथा मालवाहक ट्रकहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।

सडक सुचारु भएसँगै जुम्ला र मुगुबीचको यातायात सेवा सहज बनेको छ। बाटो बन्द हुँदा चिसोमा कष्टकर यात्रा गरिरहेका यात्रु र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या झेलिरहेका स्थानीय बासिन्दाले सडक खुलेपछि राहत महसुस गरेका छन्।