हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निष्कासित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको आधिकारिक निर्देशनभन्दा बाहिर गएर उम्मेदवार, प्रस्ताव र प्रचारमा हिँडेको भन्दै नेकपाले उनीहरुलाई कारबाही गरेको हाे।

‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक, तथा प्रचारक बनेका व्यक्तिलाई पार्टीको विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको जानकारी गराइन्छ,’– पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा जारी पत्रमा भनिएको छ ।

कारबाहीमा पर्नेमा गजुरेलसहित, महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर),धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा), जिवछ साह (सिराहा) रहेका छन्।

दाहालले सिन्धुली २ बाट र केसीले दाङ १ बाट उम्मेदवारी दिएका थिए।