टेकुबाट शुरु भयो शहीद सप्ताह

 नेपालको विभिन्न राजनीतिक आन्दोलनका क्रममा प्रजातन्त्र स्थापना र नागरिक स्वतन्त्रताका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूको सम्झनामा आजदेखि देशभर शहीद सप्ताह शुरु भएको छ। 

वि.सं. १९९७ माघ १० गतेका दिन तत्कालीन राणा शासकहरूले शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा रहेको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिएको ऐतिहासिक दिनको स्मरण गर्दै यो सप्ताहको आरम्भ गरिएको हो। यसै अवसरमा आज बिहान टेकुस्थित शास्त्रीको शालिकमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी उहाँप्रति उच्च सम्मान प्रकट गरिन्।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते शोभाभगवतीमा दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई दिइएको मृत्युदण्डको स्मरण गर्दै विशेष कार्यक्रमहरू आयोजना गरिनेछ। तत्कालीन निरंकुश शासन विरुद्ध आवाज उठाएको अभियोगमा यी चार वीर सपूतहरूले १० दिनको अन्तरालमा आफ्नो प्राणको आहुति दिएका थिए। 

यसरी माघ १० गतेदेखि शुरु भएको शहीद सप्ताह सात दिनसम्म विभिन्न रचनात्मक र स्मृति कार्यक्रमका साथ मनाएपछि आगामी माघ १६ गते शहीद दिवस मनाउँदै समापन गरिनेछ।