मानवीय क्षतिमा ओलीको तर्क: ‘प्रधानमन्त्रीले गोली चलाउने होइन’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलन र त्यसक्रममा भएको मानवीय क्षतिको जिम्मेवारी आफूमाथि थोपर्नु गलत भएको बताए। आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले तत्कालीन घटनाका आरोपहरू झूट र नियोजित भ्रम मात्र भएको स्पष्ट पारे।

आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै ओलीले भने, “त्यतिबेला युवाहरू मारिएको घटनाको आरोप ममाथि लगाइयो। प्रधानमन्त्री आफैँ बन्दुक समातेर बस्ने वा गोली चलाउन जाने व्यक्ति होइन। सेना, प्रहरी र सशस्त्रको आफ्नै चेन अफ कमान्ड र जिम्मेवारी हुन्छ, सुरक्षा व्यवस्थापन प्रशासनको जिम्मामा रहन्छ।” उनले ती आरोपहरू स्थानीय स्तरमा नभई बाहिरबाट आयातित भएको र त्यही भ्रमका कारण तोडफोड, आगजनी र लुटपाट जस्ता अप्रिय घटना गराइएको दाबी गरे।

अध्यक्ष ओलीले एमालेको विरोध हुनुलाई नौलो विषय नभएको बताउँदै देश विकास र राष्ट्र जोगाउने अभियानमा लाग्दा सधैँ प्रहार हुने गरेको उल्लेख गरे। आफू सरकारबाट हटेपछि झापाका विकास बजेटहरू रोकिएको गुनासो गर्दै उनले भने, “म हट्नेबित्तिकै यहाँका बजेट रोकिए, अहिले हामीसँग प्रतिस्पर्धा गर्न आउनेहरू नै ती बजेट रोकाउने पात्र हुन्।” उनले एमाले कुराभन्दा काममा विश्वास गर्ने पार्टी भएकोले अधुरा विकासका काम पूरा गर्न आफू पुनः निर्वाचनको मैदानमा आएको स्पष्ट पारे।