नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई विभाजनको सङ्कटबाट जोगाउन आफूले मध्यमार्गी बाटो रोजेको बताएका छन्। बिहीबार मोरङ निर्वाचन क्षेत्र नं. ६ को सुन्दरहरैँचामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमा सहभागी नहुनुको मुख्य कारण पार्टी फुट्न नदिनु नै रहेको स्पष्ट पारे।
डा. कोइरालाले यदि आफू उक्त महाधिवेशनमा गएको भए पार्टी फुट्न सक्ने जोखिम रहेको उल्लेख गर्दै आफू र डा. डिला सङ्ग्रौला अहिले एकै ठाउँमा रहेर निर्वाचन अभियानमा होमिनुले पार्टीभित्रको एकतालाई पुष्टि गर्ने दाबी गरे।
उनले सांसदका रूपमा आफ्नो कार्यकालमा सधैँ भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा आवाज उठाएको स्मरण गर्दै राष्ट्रिय राजनीतिमा यस क्षेत्रका जनताको शिर कहिल्यै झुक्न नदिएको बताए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले मुलुकलाई स्पष्ट राजनीतिक निकास दिने विश्वास व्यक्त गर्दै डा. कोइरालाले अब महाधिवेशनका आन्तरिक विवादलाई बिर्सेर निर्वाचनमा केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिए। पार्टीलाई एकढिक्का बनाएर लैजानु नै अहिलेको मुख्य दायित्व भएको र सोही अनुरूप आफूले शान्त र सौम्य धार अपनाएको उनको भनाइ थियो।
कार्यकर्ताहरूसँगको छलफलमा उनले हिजोका कमीकमजोरीलाई स्वीकार गर्दै अबको लक्ष्य नेपाली कांग्रेसलाई विजयी गराउनु रहेकोमा जोड दिए। नीति निर्माणदेखि जनताको जीवनस्तर सहज बनाउनेसम्मका काममा आफू सदैव प्रतिबद्ध रहेको बताउँदै उनले यसपटकको निर्वाचनमा सबैले एकजुट भएर भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। निर्वाचनको दौड सुरु भइसकेकाले सम्पूर्ण शक्ति परिचालन गरेर कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न उनले आग्रह गरे।





