रेणु दाहालले दिइन् राजीनामा, चितवन-३ मा आजै मनोनयन दर्ता

 भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन आज आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले महानगरका उपप्रमुख चित्रसेन अधिकारीलाई आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।

नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिनुअघि कार्यपालिकाको अन्तिम बैठक डाकेकी थिइन्। 

सो अवसरमा उनले आफ्नो दोस्रो कार्यकालमा विकास निर्माण र सुशासनका काममा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी र नगरवासीलाई विशेष धन्यवाद व्यक्त गरिन्। २०७९ को स्थानीय निर्वाचनमा उन दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्।

दाहालको राजीनामासँगै महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख चित्रसेन अधिकारीले सम्हालेका छन्। जिम्मेवारी ग्रहण गर्दै कार्यवाहक प्रमुख अधिकारीले निवर्तमान प्रमुख दाहालको नेतृत्वमा सुरु भएका अधुरा योजना र विकासका कामलाई प्राथमिकताका साथ सम्पन्न गर्ने प्रतिबद्धता जनाए। 

आजै उनले चितवन-३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ।