नेकपा (एमाले) का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट आफ्नो मनोनयन दर्ता गराएका छन्।
बस्नेतले भक्तपुरको मध्यपुर थिमीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। यस क्षेत्रमा बस्नेत एमालेका तर्फबाट एकल सिफारिस भएका थिए।
बस्नेतका मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका दुर्लभ थापालाई हेरिएको छ, जसले २०७९ को निर्वाचनमा बस्नेतलाई झिनो मतान्तरले पराजित गरेका थिए।
यद्यपि कांग्रेसले यसपटक थापासहित ८ जनाको नाम सिफारिस गरेको छ। त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यस क्षेत्रमा आफ्ना उम्मेदवारहरू खडा गरेका छन्।
आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। उ
म्मेदवारहरू बाजागाजा र ठूलो सङ्ख्यामा आफ्ना समर्थकहरूको जुलुससहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुग्ने क्रम जारी छ। आयोगका अनुसार आजै साँझ उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिनेछ।





