मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृ*त्यु

मोरङको बुढिगंगामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

बुढिगंगा गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्तिक जुट मिल अगाडि प्रदेश १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक र पछाडि सवार दुवैको ज्यान गएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षीय प्रकाश साह र सोही मोटरसाइकलको पछाडि सवार विराटनगर महानगरपालिका वडा नम्बर १५ की ४० वर्षीया कन्चन झा रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

साँझ ७ः३० बजे भएको दुर्घटनाका दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि गंगा चोकस्थित विराट टिचिङ अस्पताल पठाएको थियो।

अस्पताल पुर्‍याएपछि चेकजाँचका क्रममा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।