रवि लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्ध सर्वोच्च अदालतमा रिट

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध सम्बन्धी गम्भीर अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

शुक्रबार कानुनका विद्यार्थी युवराज पौडेल (सफल) र आयुष बडाल लगायतले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन् । निवेदक सफलले निर्णय अध्ययनका क्रममा रहेको बताउँदै यो निर्णय गैरकानुनी भएको जिकिर गरेका छन् ।

निवेदनमा महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते गरेको निर्णय बदर गर्न, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर कसुरलाई कमजोर बनाउने कार्य नगर्न परमादेश जारी गर्न तथा मुद्दाको अन्तिम किनारा नलागेसम्म यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

महान्यायाधिवक्ता भण्डारीले रवि लामिछानेको निवेदनका आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन गर्ने स्वीकृति दिएकी थिइन् ।

यसअनुसार सहकारी ठगी र ठगीसम्बन्धी अभियोग कायमै राखेर सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको दाबी हटाउने गरी विभिन्न जिल्ला अदालत (कास्की, रुपन्देही, काठमाडौं, पर्सा, चितवन) मा पेस हुने गरी निर्णय भएको थियो ।

रविले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोजन भएको दाबी गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए ।