परराष्ट्रमन्त्री शर्मा र इजरायली राजदूत बासबिच भेटवार्ता, कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठ मनाउने

नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेका छन् । मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध पक्षमा छलफल भयो ।

भेटका अवसरमा राजदूत बासले नवनियुक्त परराष्ट्रमन्त्री शर्मालाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । जवाफमा मन्त्री शर्माले राजदूतलाई स्वागत गर्दै नेपाल र इजरायलबिचको बढ्दो द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गरे ।

मन्त्री शर्माले यस वर्ष दुई देशबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वर्षगाँठ उत्साहका साथ मनाउन आफू इच्छुक रहेको बताए । साथै उनले नेपालमा राजदूतको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न मन्त्रालय र अन्य सम्बन्धित निकायबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।