अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विगतका उपलब्धिमै सीमित रहेर पार्टीको भविष्य सुरक्षित गर्न नसकिने बताएका छन् । उनले समयअनुसार सोच, शैली र नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । 

सभापति शेरबहादुर देउवानिकट मानिने श्रेष्ठ विशेष महाधिवेशनको समर्थनमा आइतबार भृकुटीमण्डप पुगेका थिए ।



उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले इतिहासमा खेलेको भूमिकाप्रति गर्व गर्न सकिने भए पनि अब त्यसैको सहारामा अघि बढ्न नसकिने स्पष्ट पारे ।   

कांग्रेसले राणा शासन अन्त्यदेखि पञ्चायती व्यवस्थाको पतन र गणतन्त्र स्थापनासम्म निर्णायक भूमिका खेलेको स्मरण गर्दै उनले भने, ‘विगतका ती उपलब्धि सम्मानयोग्य भए पनि अब पार्टीले नयाँ चुनौतीको सामना गर्न नयाँ सोचका साथ अघि बढ्नुपर्ने बेला आएको छ ।’   



श्रेष्ठले बदलिँदो समयसँगै पुस्तागत परिवर्तन भएको उल्लेख गर्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनु अपरिहार्य रहेको बताए ।  

‘समय बदलिएको छ, पुस्ता बदलिएको छ, अपेक्षा बदलिएको छ । अब चल्ने शैली पनि बदल्नुपर्छ । अब नयाँ युवाहरूलाई अगाडि सार्नुपर्छ,’ उनले भने, ‘नयाँ युवायुवतीलाई देशको हरेक ठाउँमा ल्याउनुपर्छ ।’