नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलताल क्षेत्रबाट केही तल त्रिशूली नदीको तनहुँतर्फको किनारमा बसजस्तो देखिने ठूलो धातुको वस्तु भेटिएको छ। यो वस्तु बालुवाले पुरिएको अवस्थामा झाडीमा देखिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, चितवनतर्फबाट नदीको पारिपट्टी उक्त धातु देखिएको जानकारी प्राप्त भएपछि तनहुँ र चितवन दुवैतर्फका प्रहरी टोली घटनास्थलतर्फ जाँदै छन्। स्थान अप्ठ्यारो र पुग्न कठिन भएकाले प्रहरीले अहिलेसम्म पुगेर बस हो वा होइन भनी यकिन गर्न सकेको छैन ।
स्थानीय तथा पारिबाट हेर्नेहरूले भने यो वस्तु २०८१ असार २८ गते सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बसमध्ये एक हुन सक्ने आशंका गरेका छन्। ती बसहरू अहिलेसम्म पूर्ण रूपमा भेटिएका थिएनन्।
दुर्घटनाको सम्झना भरतपुर महानगरपालिका-२९ सिमलताल नजिकै पहिरोका कारण ६५ जना यात्रु बोकेका दुईवटा बस (एउटा वीरगन्जबाट काठमाडौं जाँदै गरेको र अर्को काठमाडौंबाट गौर जाँदै गरेको) त्रिशूली नदीमा खसेका थिए। दुर्घटनामा ११ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने तीनजना घाइते भएका थिए। बाँकी ५१ जना बेपत्ता भएका थिए, जसमध्ये केहीको शव पछि विभिन्न स्थानमा फेला परे पनि बसहरू भने नदीको गहिराइमा हराइरहेका थिए।





