एमाले समानुपातिक बन्दसूचीका पाँच उम्मेदवारले नाम फिर्ता मागे

नेकपा (एमाले) को समानुपातिक निर्वाचन बन्दसूचीमा समावेश पाँचजनाले आफ्नो नाम हटाउन माग गर्दै पार्टीमा निवेदन दर्ता गराएका छन् ।

तीमध्ये दुई जनाले राष्ट्रिय सभामा उम्मेदवारी दिने तयारी गरेपछि समानुपातिक सूचीबाट नाम फिर्ता गर्न चाहेको जनाइएको छ । राष्ट्रियसभा सदस्यका उम्मेदवारका रूपमा कोशी प्रदेशबाट सोम पोर्तेल र सुदूरपश्चिम प्रदेशबाट लिला भण्डारीले पार्टीमा निवेदन बुझाएका हुन् ।

यसैगरी एकजनाले आफू हाल सरकारी सेवामा कार्यरत रहेको कारण देखाउँदै बन्दसूचीबाट हटाइदिन आग्रह गरेका छन् । बाँकी दुई जनाको नाम फिर्ताको कारण  सार्वजनिक गरिएको छैन।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले पाँच जनाबाट समानुपातिक बन्दसूचीबाट नाम हटाउन माग गर्दै निवेदन प्राप्त भएको बताए । उनका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार पार्टीले आवश्यक प्रक्रिया अघि बढाउँदै आयोगसँग सूचीमा सच्याउन आग्रह गर्नेछ ।

निर्वाचन आयोगको सार्वजनिक कार्यतालिका अनुसार २७ पुससम्म समानुपातिक सूचीमा समावेशी समूह तथा अन्य विवरण सच्याउने समय तोकिएको छ ।