वामदेव गौतमको सांसद पद ‘अयोग्य’ भएको रिटमा मिसिल मगाउने आदेश

सर्वोच्च अदालतले राष्ट्रिय सभाका तत्कालीन मनोनित वामदेव गौतम सांसद पदका लागि अयोग्य भएको भन्दै दायर रिटमा मिसिल प्राप्ति गर्ने आदेश दिएको छ । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, तिल प्रसाद श्रेष्ठ र विनोद शर्माको स‌ंवैधानिक इजलासले भदौ २४ मा भएको आगजनीमा परेर मिसिल नष्ट भएकाले मिसिल प्राप्ति गर्ने आदेश दिएको हो ।

२०७७ सालमा प्रतिनिधिसभा निर्वाचनमा पराजित तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन अयोग्य भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले फरक–फरक रिट दिएका थिए । दुवैले गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदरको माग गर्दै रिट दिएका थिए । 

त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी कार्यालय र वामदेव गौतमलाई विपक्षी बनाएर सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।  निवेदनमा गौतमलाई मनोनयनका लागि मन्त्रिपरिषद्ले गरेको सिफारिस नै बदनियतपूर्ण एवं दुराशयपूर्ण हुनुका साथै संविधानको धारा २, ७४, ८६(२) (ख) एवं ७८ (४) को सर्वथाविपरीत रहेको दाबी गरिएको छ ।

‘प्रतिनिधसभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई संघीय संसदको सोही कार्यकालभित्र राष्ट्रियसभामा मनोनित गरिनु जनताको अभिमतको गम्भीर अपमान हो । प्रथम दृष्टिमै यो संविधानको जालसाजीपूर्ण एवम् कपटपूर्ण प्रयोग हो,’ त्रिपाठीले भनेका छन् । २०७७ असोज १ गते तत्कालीन राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ८६(२)(ख) बमोजिम गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेकी थिइन् । राष्ट्रपतिले गौतमलाई २०७७ भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम मनोनित गरेकी हुन् ।