राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी प्रतिनिधिसभा निर्वाचनको लागि कर्णाली प्रदेशबाट समानुपातिकतर्फको बन्दसूचीमा परेकी सोलो ट्राभलर रुकुम पश्चिमकी सिर्जना ओली (सिर्जु)ले आफ्नो नाम समानुपातिक सूचिबाट फिर्ता लिएको घोषणा गरेकी छन् ।
बुधबार समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ओलीले आफूले राजनीति बुझे पनि अहिले भने आफू राजनीतिमा आउन नचाहेको भन्दै आफ्नो नाम समानुपातिक बन्दसूचीबाट फिर्ता लिएको जानकारी गराएकी हुन् ।
ढोरपाटन, रुकुम र कर्णाली क्षेत्र केन्द्रित पर्यटन प्रवर्द्धनमा सक्रिय सोलो ट्राभलरको रूपमा परिचित ओली रास्वपाको समानुपातिक सूचीमा टिम बालेनबाट परेकी थिइन् ।
यस विषयमा स्पष्टीकरण दिँदै ओलीले बालेन टिमबाट आएको प्रस्तावमा हतारमा निर्णय हुन पुगेको स्वीकार गर्दै आफ्नो नाम फिर्ता लिइसकेको बताएकी छन् ।
“उक्त प्रस्ताव कुनै राजनीतिक पृष्ठभूमि वा पार्टीगत योगदानका आधारमा नभई, देशका दुर्गम र लुकेका गन्तव्यहरू– हुम्ला, डोल्पा, मुगु, रुकुम, ढोरपाटन, सिंजा उपत्यका, भोजपुर–खोटाङलगायत क्षेत्रमा गरिएको दीर्घकालीन पर्यटन प्रवर्द्धन र स्थानीयसँग प्रत्यक्ष जोडिएको कामको मूल्यांकनका आधारमा आएको हो,” ओलीले फेसबुकमा लेखेकी छन् ।
समानुपातिक सूचीमा नाम आएपछि उठेका भिजन, एजेन्डा र अवसरवादसम्बन्धी प्रश्नहरू स्वाभाविक भएको बताउँदै उनले आफू हाल राजनीतिमा प्रवेश नगर्ने स्पष्ट पारेकी छन् ।





