काठमाडौं-हेटौंडा जोड्ने छोटो दूरीको मार्गअन्तर्गत मकवानपुरको भीमफेदीमा आइतबार साँझ भएको जीप दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो भीमफेदी गाउँपालिका-६, जुरिखेतमा अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा सो दुर्घटना भएको हो । दुर्घटनास्थलमा ६ जनाको तत्कालै मृत्यु भएको थियो भने घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनाको करिब १२ घण्टापछि मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल र हेटौंडा-२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल रहेका छन् ।
यस्तै, दुर्घटनामा भारतीय नागरिकहरूको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार (पटना) का ४२ वर्षीय रजनिस कुमार र बिहारकै बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहेको प्रहरीले पुष्टि गरेको छ । अन्य दुई जना अन्दाजी ३५ र ४० वर्षका पुरुषको भने अझै सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चालक हेटौंडा-४ का ४०-४५ वर्षीय गणेश थापा र मृतक सविता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साललाई हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज (भरतपुर) रिफर गरिएको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । अर्की घाइते रौतहट चन्द्रपुर-२ की रिचा चौधरीको भने हेटौंडा अस्पतालमै उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ ।





