एमालेको समानुपातिक सूचीमा झापाका नौ जना परेका छन्। झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला हो।
झापाका नौजना एमाले समानुपाति सूचीमा परे पनि देशका २१ जिल्लाबाट भने एमालेले कसैलाई पनि समानुपातिक उम्मेदवार बनाएको छैन।
एमालेले पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा झापाबाट अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो परेका छन्।
झापापछि एमालेको समानुपाति सूचीमा काठमाडौँ र धुनषाबाट ७र७ जनाालाई उम्मेदवार बनाएको छ।
काठमाडौँबाट लक्की शेर्पा, मिना बरामु, कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, सानुमैया खड्का, मायादेवी पोडेनी र निर्मल देउला पोडेको नाम समावेश छ।
त्यसैगरि धनुषाबाट उर्मिला देवी पासवान, यशोदा कुमारी यादव, मन्जु महतो, रेणु साह, अरविन्द साह, राम चरित्र साह र चन्द्रेश्वर यादव एमाले समानुपातिक सूचीमा समेटिएका छन्। धनुषा एमालेका नव निर्वाचित उपमहासचिव रघुवीर महासेठको गृह जिल्ला हो।
त्यसैगरि एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट समानुपातिक सूचीमा ४ जना समेटिँदा एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला रुपन्देहीबाट भने एकजना पनि परेका छैनन्।
महासचिव पोखरेलको गृहजिल्ला दाङबाट कोमल वली, एञ्जिला थापा, शान्ता चौधरी र साजिदा खातुन सिद्धिकी समानुपातिक उम्मेदवार बनेका छन्। वली र चौधरीलाई एमालेले यसअघि पनि सांसद बनाएको थियो।
यी २१ जिल्लाबाट एमाले प्रतिनिधित्व शून्य
एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा देशका ७७ मध्ये ५६ जिल्लाको मात्रै प्रतिनिधित्व देखिएको छ। देशका २१ जिल्लाबाट कुनै पनि उम्मेदवार एमालेको समानुपातिक सूचीमा परेका छैनन्।
ताप्लेजुङ, तेह्रथुम, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, गोरखा, मनाङ, बागलुङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, जुम्ला, बाजुरा, डोटी, डडेल्धुरा, बैतडीबाट एमालेले कसैलाई पनि समानुपातिक उम्मेदवार बनाएको हो।





