रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा डा. रामजी राम पनि परेको छन् । दलित कोटोबाट उनी चौथो नम्बरमा समावेश भएका छन् ।
३० वर्षीय राम रौतहटको गढीमाई नगरपालिका–९ मा एक साधारण चमार परिवारमा जन्मिएका हुन् । बाल्यकाल गरिबी र जातीय भेदभावबीच बित्दै उनले ठूलो संघर्ष गरेर एमबीबीएस अध्ययन पूरा गरेसँगै उनी आफ्नो समुदायबाट पहिलो चिकित्सक बने ।
अहिले सरकारी अस्पतालमा सेवा गरिरहेका छन् । उनी चन्द्रनिगाहापुर अस्पतालमा सेवा गर्दै मनोचिकित्सक बन्ने सपना बोकेका छन् । उनी दलित समुदायका बालबालिकाका लागि प्रेरणास्रोत समेत हुन् ।
आफ्नो शैक्षिक यात्रामा भोगेका कष्टहरूलाई सम्झँदै, उनले अरू बालबालिकालाई त्यस्तो पीडा भोग्नु नपरोस् भन्ने उद्देश्यले एक महत्वाकांक्षी अभियान सुरु गरेका छन् ।
‘समय शिक्षा अभियान’ नाम दिइएको यो कार्यक्रम अन्तर्गत डा. रामले रौतहटका विभिन्न गाउँहरूमा सात वटा ट्युसन सेन्टरहरू स्थापना गरेका छन् । यी केन्द्रहरूमा बिहान र बेलुका गरी पाँच सयभन्दा बढी बालबालिकाले नि:शुल्क शिक्षा प्राप्त गरिरहेका छन् ।
२३ र २४ भदौं जेनजी आन्दोलनपछि सरकार बनेसँगै उनको नाम स्वास्थ्यमन्त्रीका लागि चर्चामा आएको थियो ।





