राहदानी रोक्का गरेको विषयमा मलाई कुनै जानकारी दिइएन, यो कानुन विपरीत छः लेखक

 पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई पूर्वजानकारी समेत नदिई स्थानहद तोकेको तथा राहदानी रोक्का गरेको भन्दै उक्त निर्णय विधिको शासन र संविधान तथा कानुनी व्यवस्थाविपरित भएको टिप्पणी गरेका छन् ।

सोमवार जाँचबुझ आयोगमा बयान दिए लगत्तै पत्रकार सम्मेलन गर्दै उनले यस्तो टिप्पणी दिएका हुन् ।

उनले आयोगको सिफारिसमा सरकारले आफूमाथि काठमाडौँ उपत्यका बाहिर जान प्रतिबन्ध लगाएको र राहदानी रोक्का गरेको जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाएको पनि उल्लेख गरे । उनले प्रचलित कानुनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानहद र राहदानी रोक्का गरेको हो रु भन्नेबारे कुनै जानकारी प्राप्त नभएको पनि बताए । उनले यसतर्फ सरकारलगायत सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराए ।

उनले भने ‘बढो दुःखका साथ भन्नुपरेको छ, आयोगको सिफारिसमा नेपाल सरकारले तीन महिना र म समेतलाई काठमाडौँ उपत्यकाभित्र स्थानहद गरेको र राहदानी रोक्का गरेको मैले सञ्चार माध्यममार्फत जानकारी पाएँ । मलाई देशको संविधान वा अन्य प्रचलित कानुनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि ? के औचित्यले ? कति अवधिका लागि ? किन स्थानहद र राहदानी रोक्का गरेको हो ? कुनै लिखित वा मौखिक जानकारीसम्म दिइएको छैन । नत मलाई यस बारे सोध्ने वा जवाफ दिने मौका नै दिइएको छ । यो विषय निर्णय गर्नुपूर्व र पछि पनि मैले विधिवत् रूपमा जानकारी पाउनुपर्ने कुरा विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तभित्र नै पर्ने हो भन्ने मलाई विश्वास थियो । तर त्यो भएन । बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्थाविपरित समेत हुन । तसर्थ यसतर्फ आयोग र सरकारसहित सबै निकायलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले आन्दोलनको क्रममा योजनाबद्ध घुसपैठ भएको कारण हाताहाती भएको उल्लेख गर्दै प्रहरी दमनमा आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पारे ।