लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ

 राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्था बाहेक अरू कुनै नरहेको बताएका छन् ।

शुक्रवार राजधानीमा आयोजित बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनले लघुवित्तले बिना धितोमा कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार ३० दशकमा लघुवित्तले मुलुकको गरिबीलाई घटाउन ठुलो भूमिका खेलेको छ ।

लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत दिएर उनीहरूलाई सक्षम बनाएको समेत श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले लघुवित्तका कारण वित्तीय पहुँच बढेको बताउँदै राजनीति स्र्वथ पुरा गर्न लघुवित्तलाई बदनाम गरिएको समेत बताए । तर अहिले स्थिति सामान्यीकरण भइसकेको उनको भनाइ छ ।

उनले हरेक क्षेत्रमा समस्या रहेकाले सम्बोधन गर्ने काम राज्यको भएकाले समाधान गर्दै जाने समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।