काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् ।
विश्वस्त स्रोतले सिधाकुरालाई बताए अनुसार अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन् । सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठन, झण्डा र निर्वाचन चिन्ह घण्टी स्वीकार गर्न तयार भएका छन् । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने छ ।
सहमतिको खाका तयार गरिरहेका नेताकाअनुसार पहिलो साढे २ वर्ष रास्वपाको प्रधानमन्त्री बालेन्द्र शाह हुनेछन् । बालेनले रास्वपामा कुनै पनि साङ्गठनिक जिम्मेवारी दावी नगरेको पनि दुई पक्षको भनाई छ । जसअनुसार रवि रास्वपाको सभापति रहने छन् ।
अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन् । ‘लगभग सबै कुरा सकिएको छ । नेता, नेतृत्व, पार्टी र झण्डा र चुनाव चिन्ह रास्वपाको, पहिलो साढे २ वर्ष बालेन प्रधानमन्त्री बन्ने सहमति भयो,’ स्रोतले भन्यो, ‘ आज बेलुकासम्म सहमतिमा हस्ताक्षर हुन्छ ।’





