कांग्रेस नेता महर र नोबेल पुरस्कार विजेता काजिताबिच भेटवार्ता

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहका प्रमुख अतिथि एवम् नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितासँग भेटवार्ता गर्नुभएको छ ।

बिहीबार काठमाडौँको सोल्टी होटलमा भएको भेटमा नेपालको उच्च शिक्षाको विद्यमान अवस्था, विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान, शैक्षिक गुणस्तर सुधार र समग्रमा युगानुकूल शिक्षा नीतिका विषयमा गहन छलफल भएको नेता महरको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेता महरले विश्वविख्यात वैज्ञानिकको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूमा नयाँ ऊर्जा र प्रेरणा थपिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको जेठो विश्वविद्यालयका रूपमा रहेको त्रिविको शैक्षिक गुणस्तर उकास्न र अबको शिक्षालाई अनुसन्धानमूलक बनाउन यहाँको सुझाव हाम्रा लागि मार्गदर्शक हुनेछ ।’’ साथै महरले विज्ञान र प्रविधिको क्षेत्रमा जापानले हासिल गरेको चमत्कारिक प्रगतिबाट नेपालले धेरै सिक्न सक्ने धारणा समेत राख्नुभएको थियो ।

भेटमा प्राध्यापक काजिताले नेपालको शैक्षिक तथा वैज्ञानिक क्षेत्रको उन्नतिको यात्रामा आफ्नो र जापानको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काजिता त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौँ आउनुभएको हो । टोकियो विश्वविद्यालयमा आबद्ध उहाँले सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँलाई ‘न्यूट्रिनो ओसिलेसन’को खोजका लागि उक्त प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा महामन्त्री पदको सशक्त  म्मेदवार रहेका नेता महरले पछिल्लो समय बौद्धिक तथा प्राज्ञिक व्यक्तित्वहरूसँगको भेटघाटलाई तीव्रता दिइरहनुभएको छ । शिक्षा विभाग प्रमुख समेत रहेका उहाँले नेपालको शैक्षिक सुधार र नीति निर्माणका बहसहरूमा सक्रियता बढाउँदै आउनुभएको छ ।