जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते नै हुनुपर्नेमा जोड दिएका छन्। पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष राउतले सरकारको कदमलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै सुरुदेखि नै निर्वाचनमा भाग लिने निर्णय गरेको स्पष्ट पारे। जेनजी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने र नयाँ जनादेश लिनुपर्ने आवश्यकता औँल्याउँदै उनले समाजमा देखिएको अराजक अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुु भयो।
‘सरकारको कदमलाई हामीले सकारात्मक रूपमा हेरेका छौँ,’ राउनले भने, ‘निर्वाचनमा भाग लिने निर्णय सुरुदेखि नै गरिसकेका छौँ। फागुन २१ गते नै निर्वाचन हुनुपर्छ। आन्दोलनको मर्मको कदर हुनुपर्छ र नयाँ जनादेश लिनुपर्छ।’
भागेका कैदी र फेला नपरेका हतियारका कारण समाजमा उत्पन्न त्रासको सामना गर्न सक्ने परिस्थिति सरकारले निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष राउतले निर्वाचन प्रयोजनार्थ सुरक्षाका विषयमा पनि सरकारसँग चासो राखिएको जानकारी दिए।





