बालेन र रवि दुवैको प्रधानमन्त्री बन्ने चाहना, बालेनको झुकाव रविभन्दा कुलमानतर्फ बढी

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सोमबार राती ६ घण्टासम्म चलेको छलफलमा दुवै जनाले भावी प्रधानमन्त्री बन्ने चाहना गरे पनि ठोस निकास भने निस्कन सकेन । यद्यपि, छिट्टै सहमतिसहित निकास निकाल्नुपर्नेमा उनीहरू एकमत रहेको बताइएको छ ।

आगामी निर्वाचनमा दुवैजना वा सबै नयाँ शक्तिहरू मिलेर जानुपर्नेमा समेत सहमति भएको तर त्यसको मोडालिटी के हुने भन्नेमा निश्चित भई नसकेको अवस्थामा आगामी दिनमा नयाँ भनिएका सबैसँग सहकार्य गरी साझा मोडालिटी बनाउनुपर्नेमा दुवैजना सहमत भएको रवि र बालेनका निकटस्थहरूले बताएका छन् ।

बालेनले कुलमान घिसिङलाई पनि साथै लिएर अघि बढ्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताइएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका परिकल्पनाकार मानिएका कुलमानबीच धेरै चरणमा छलफल भए पनि उनीहरूबीच कुनै सहमति हुन सकेको थिएन ।

कुलमानले सुरुमा रवि जेलमा नै रहेकाले आफैंलाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक अध्यक्ष दिनुपर्ने र आफ्नै नेतृत्वमा चुनावमा जानुपर्ने माग राखेपछि रास्वपाका अन्य नेताहरू कुलमानसँग बिच्कन पुगेका थिए । त्यसपछि कुलमानले रास्वपामा प्रवेश गर्ने योजना रद्ध गरी आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी घोषणा गरेका थिए । निर्वाचन आउनै लाग्दा कुलमानले मन्त्री पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने र चुनावी प्रचारमा होमिने रणनीति बनाएका छन् ।

रवि लामिछाने जेलबाट छुटेलगत्तै कुलमानको योजनामा समेत हल्का ब्रेक लाग्न पुगेको स्रोतको दाबी छ । कुलमान आफ्नै उज्याले पार्टीलाई अघि बढाउने र भविष्यमा आफैं प्रधानमन्त्री हुने योजनामा रहेको उनी निकटस्थहरूको भनाइ छ ।

सुरुमा कुलमानको यो योजनामा बालेनले सहमति दिए पनि पछिल्ला दिनमा रवि लामिछानेको आगमनसँगै बालेन रविसँग मिल्ने कि कुलमानसँग भन्नेमा दुविधा सिर्जना भएको बताइएको छ । यद्यपि, जेनजी समूहले फागुन २१ को निर्वाचनअघि नै उनीहरू सबैलाई एक ठाउँ ल्याउन लगातार प्रयास गर्दै आइरहेका थिए ।

बालेनले सुरुका दिनमा भने रवि लामिछानेको रास्वपालाई हेर्ने दृष्टिकोण राम्रो थिएन । विशेषगरी रवि लामिछाने २०७९ सालको निर्वाचनमा जितेर आएलगत्तै केपी शर्मा ओली र प्रचण्डले बनाएको सरकारी गठबन्धनमा मिसिन पुगेपछि रास्वपा र रविसँग पनि आक्रोशित बन्दै उनले सामाजिक सञ्जालमा त्यतिखेर नै ‘पुराना र नयाँ दल सबै चोर’ जस्तै भन्ने अभिव्यक्ति दिनुका थिए । केही महिना अघिमात्रै बालेनले ‘फक‘’ भनेर दलहरूलाई गाली गर्दा रास्वपालाई पनि गाली गर्दै रास्वपा पुरानै दलको कित्तामा उभिएको संकेत गरेका थिए ।

स्रोतका अनुसार रविभन्दा कुलमान तुलानात्मक रूपमा राम्रो व्यक्ति रहेको निष्कर्षमा बालेन छन् । त्यसैले बालेनले छान्नुपर्दा रविभन्दा कुलमानलाई नै छान्ने बालेन निकट स्रोत बताउँछन्। तर, रवि भने अदालतमा रहेका सबै मुद्दाहरूलाई छिट्टै किराना लगाएर आफैं प्रधानमन्त्री हुनुपर्ने योजनामा रहेको बताइएको छ । रविको त्यस्तो छनक पाएका बालेन कि आफैं त्यसो नभए कुलमानलाई प्रधानमन्त्री बनाएर जानुपर्ने योजनामा समेत रहेको बुझिएको छ ।

रास्वपाले वैकल्पिक राजनीति गर्ने शक्तिहरूसँग मिलेर अघि बढ्ने निर्णय गरे पनि सबैलाई समेट्ने विषयमा भने कुनै योजना बनाउन सकेको छैन । त्यसैले कुलमान आफ्नै नेतृत्वमा अघि बढ्ने सोचमा रहेकाले नयाँहरूलाई एक ठाउँमा ल्याउने प्रयास कठिन हुन सक्ने देखिएको छ ।

मेयर बालेनको पनि जेनजी आन्दोलनसँगै राजनीतिक आकांक्षा बढेको थियो । तर, संसदीय राजनीतिमा जाने कि नजाने भन्नेमा उनी अझै पनि अनिर्णित छन् । राजनीतिमा होमिने अवस्थामा भने उनी भावी प्रधानमन्त्रीकै रूपमा अघि बढ्ने स्रोतको दाबी छ । बालेन रविभन्दा नैतिक र आर्थिक सबै रूपमा बढी इमान्दार भएकाले बालेनकै नेतृत्वमा सबै नयाँ शक्तिहरू एकीकृत हुन सके त्यसले राम्रो परिणाम आउन सक्ने जेनजी अभियन्ताहरूको समेत विश्लेषण रहेको बताइएको छ ।

बालेन अहिले रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठदेखि कुलमान घिसिङसँग समेत निकट रहेर नियमित छलफल र संवाद गर्दै आइरहेका छन् । सुमनाले पनि रविभन्दा बालेन आफैं अघि सर्नुपर्ने र रविलाई मिलाएर लैजानुपर्ने सुझाव दिइरहेको बताइएको छ । रास्वपा नेताहरूका अनुसार रवि लामिछाने आफ्नो मुद्दा फस्र्यौट हुन धेरै समय लाग्ने अवस्थामा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जान तयार छन् ।

उता, बालेन पनि रविले मुद्दा जितेको अवस्थामा उनको नेतृत्व स्वीकार गर्न तयार रहेको उनको टिमका सदस्यहरूको भनाइ छ । यद्यपि, दुवैले प्रधानमन्त्रीको रूपमा इच्छा व्यक्त गरिरहेको दुवै पक्ष निकट स्रोतको भनाइ छ । तर, उनीहरू छिट्टै सहमतिमा आउने र कुलमानलाई समेत समेट्ने दावी निकटस्थहरूको छ ।

ओलीसँग निर्वाचन लड्ने बालेनको धोको

बालेनले आफ्ना निकटस्थहरूसँग राजनीतिमा आएर झापा गई केपी ओलीविरूद्ध चुनावमा खडा हुन चाहेको बताइरहेका छन् । ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्जा नहुने कुरा बालेनले आफ्ना निकटहरूलाई बताउने गरेका छन् । ‘बालेन दाइ ओलीलाई नहराइकन त चुनाव जितेको मज्जा हुँदैन भन्नुहुन्छ,’ बालेनसँग निकट सम्पर्कमा रहेका ती नेताले भने, ‘उहाँको चाहना ओलीलाई नै हराउने हो ।’