राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा उम्मेदवार सिफारिसको क्रम चलिरहँदा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम सिफारिसमा लफडा भएको छ ।
फागुन २१ गते तय भएको निर्वाचनका लागि राप्रपाले उम्मेदवार सिफारिस गर्न क्षेत्रीय कमिटीहरूलाई परिपत्र गरिसकेको छ । सोहीअनुसार उम्मेदवारको सिफारिस गर्ने क्रम चलिरहँदा काठमाडौँ–१ मा छुट्टाछुट्टै दुई वटा नामावली सिफारिस भएको हो ।
एउटा समूहले पुस १ गते नै पूर्वअध्यक्ष पशुपति शमशेर राणा, सहकोषाध्यक्ष सोभित उप्रेतीलगायतको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । अर्को समूहले फेरि बैठक बसेर रवीन्द्र मिश्रलगायतको नाम सिफारिस गरेपनि विवाद सतहमा आएको हो ।
राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पुस १ गते बसेको क्षेत्रीय कमिटीको बैठकले पूर्वअध्यक्ष पशुपति शम्शेर राणापशुपति शमशेर राणाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको बताए । उनका अनुसार प्रत्यक्षतर्फ राणासहित शोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम सिफारिस गरिएको छ । संस्थापन निकट दाबी गरिएको समूहले उप्रेतीलाई उम्मेदवार बनाउने उद्देश्यका साथ सो सिफारिस गरेको बताइएको छ । सोहीअनुसार एकपक्षीय रूपमा मिश्रको नाम नै सिफारिस नगरिएको दाबी गरिएको छ ।
त्यसपछि पुस ६ गते फेरि क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठकै अध्यक्षतामा बैठक बसेर अर्को नाम सिफारिस गरियो । उक्त सिफारिसमा मिश्रलाई एक नम्बरमा राखेर सिफारिस गरियो भने सिफारिस हुने अन्यमा रामेश्वर श्रेष्ठ र राम तुलाधर हुँदा सोभित उप्रेतीलाई भने समेटिएन ।
मिश्र निकट मानिने राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीले मिश्रको नाम सिफारिस भएको निर्णय नै आधिकारिक भएको बताए । सो अघि सिफारिस भएको भनिएपनि सिफारिस गर्न राखिएको बैठक नै अनधिकृत भएको उनको जिकिर छ ।
स्रोतका अनुसार काठमाडौँ–१ बाट दुई पटक पराजित भइसकेका मिश्रलाई पाखा लगाएर उप्रेती आफूलाई उम्मेदवारको रूपमा खडा गर्न चाहन्छन् । सोहीअनुसार उनले मिश्रलाई पाखा लगाएर केन्द्रमा सिफारिस गरेको स्रोतको भनाइ छ । तर, मिश्र पनि आफूले नै टिकट पाउनुपर्ने भन्दै लागिपरेको हुन् ।





