राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच सोमबार मध्यरातमा भएको भेटवार्तालाई सकारात्मक रूपमा हेरिएको छ। दुवै नेताबीचको छलफलले पछिल्लो समय देखिएको राजनीतिक दूरी घटाउने संकेत दिएको नेताहरूले बताएका छन्।
काठमाडौँस्थित असिम साहको म्युजिक कम्पनी ‘जी–२१’को कार्यालयमा भएको भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भेटमा सहभागी असिम साहले जानकारी दिएका छन्। भेटपछि रवि र बालेन एउटै गाडीमा सँगै बाहिरिएको दृश्यले पनि भेटवार्ता अर्थपूर्ण रहेको संकेत गरेको छ।
भेटका क्रममा ठोस विषयवस्तु सार्वजनिक नगरिए पनि समसामयिक राजनीतिक अवस्था, आगामी दिनमा मिलेर अघि बढ्ने सम्भावना र सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ। यस भेटलाई परिवर्तनमुखी शक्तिहरूबीच समझदारी र समन्वयतर्फको पहलका रूपमा हेरिएको छ।
भेटको समन्वय गरेका रास्वपा नेता असिम साहले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै लेखेका छन्, “अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। सबै नेपालीलाई बधाई।”
राजनीतिक वृत्तमा यो भेटलाई आगामी दिनमा नयाँ समीकरण र सहकार्यको आधार बन्न सक्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।





