नेपाली काँग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएको छ ।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो कुरा बताएका हुन् ।
उनले राजनीतिक दल र त्यसका नेताहरूमाथि दुस्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न ढिलाइ गर्न नहुने बताए । उनले निर्वाचनको लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिए ।
विगतमा नेपाली काँग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएकाले दाबी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने बताए । उनले सरकारले निर्वाचन नभई अन्य काममा ध्यान दिएको भन्दै आपत्ति समेत जनाए । तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको वैधतामाथि नै प्रश्न उठने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाई थियो ।
उनले भने ‘सुरक्षाको व्यवस्था भएन भने विगतमा धेरै चुनाव नेपाली काँग्रेसको नेतृत्वमा भएको छ । काँग्रेसको नेतृत्वमा चुनाव हुँदा हाम्रो प्रधानमन्त्रीले पनि चुनाव हारेको छ । तर हामीले निष्पक्ष निर्वाचन गराएका छौँ । अहिले यो सरकारबाट पनि त्यस्तो आओस् । कसैले रिसीवी साँध्ने काममा सरकार नजाओस् । डेमोक्रेसीको मूल आधार राजनीतिक दलहरू नै हो । त्यसैले राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि कुरा गर्नुस् । र अहिले जुन कानुन ल्याउन खोज्नुभएको छ । त्यो राम्रो भएपनि समयले हामीलाई साथ दिँदैन ।’
सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरूलाई बेवास्ता गरेर कुनैपनि गतिविधि अघि बढाउन नसकिने पनि बताए ।





