के मुलकमा राजाको भूमिका जरुरी भएको हो ?

 नेपालको राजनीतिमा थुप्रिएको फोहर जेनजि आन्दोलनले पनि बगाउन सकेन । केही समय लाखापाखा लागेका प्रेतहरु फेरि मसानघाटबाट उठेर बस्तीलाई तर्साउन खोजिरहेका छन् । आन्दोलनपछि युवा पुस्ताले देखेको सपना पनि तेस्रो पक्षले ध्वस्त पारिदिएको छ । फलतः देश अहिले रानो बिनाको माहुरी जस्तै बन्न गएको छ । राजनीतिलाई नितान्त आफ्नो स्वार्थ पुरा गर्ने साधन बनाइएको छ । वास्तवमा  राजनीति व्यक्तिगतभन्दा समूह र राष्ट्रको हितमा प्रयोग हुने अभ्यास हो । जनताका न्यूनतम आवश्यकता पुरा गर्न नीति बनाएरै कार्यान्वयन हुनु नै नागरिकलाई सेवा गर्नु हो । यस्तो पवित्र काम गर्ने निहुँमा सत्ता र शक्तिको दुरुपयोग गर्नाले जनतामा चरम निराशा छाएको छ । राजनीतिमा व्यापारीकरण भयो र त्यसले भ्रष्टीकरण ल्याएकोले आजको परिस्थिति पैदा भएको कुरामा अब धेरै शंका छैन । यो सब राजनीति र लोकतन्त्रलाई जनसेवा वा विचारका आधारमा नभई व्यापार, नाफा र पैसाको बलमा सञ्चालन गर्ने प्रवृत्ति संस्थागत भएकाले हो ।

कुनै विशिष्ट तह र तप्का होस्, चुनावमा टिकट लिन होस् वा ठूलाठूला ठेक्कापट्टामा होस् वा स–साना काममा बिचौलियाको हालीमुहाली होस्— सर्वत्र कमिसन तथा आर्थिक पाटोको विषय संस्थागत बन्दै गयो । यसले राजनीति सेवा नभएर व्यापारीकरणमा परिणत भयो, जहाँ ‘राम्रा’ भन्दा ‘हाम्रा’ ले प्राथमिकता पाउने भए । पैसावालको राज चल्ने भएपछि तल्लो वर्ग अझ तल झर्ने अवस्था सिर्जना हुँदै गयो । केही समय अगाडिदेखि नै ‘क्रिप्टोक्रेसी नेक्सस’, ‘नेपो बेबी’ नामक भाष्यको पनि निर्माण भइरहेको अवस्था थियो ।
राजनीतिमा भ्रष्टीकरण भनेको व्यक्तिगत, समूहगत तथा पार्टीगत फाइदाका लागि सार्वजनिक पद, नीति र स्रोतहरूको दुरुपयोग गर्नु हो । यसले लोकतन्त्र, सुशासन र विकासको मार्गमा बाधा पुर्‍याउँछ । जब राजनीतिमा भ्रष्टीकरणले प्रश्रय पाउँछ तब समाजमा राजनीतिक दलप्रति जनताको विश्वास गुम्छ । यसले लोकतन्त्र कमजोर बन्छ, ‘मेरिटोक्रेसी’ हराउँछ, साधन र स्रोतको उचित बाँडफाँट हुँदैन र जनता सडकमा आउनुपर्ने अवस्था आउँछ । ठेक्कापट्टामा राजनीतिक गठजोड, पार्टीभित्र टिकट किनबेच, जागिर तथा पदमा जान सम्पर्क–सम्बन्ध आवश्यक र सांसदसमेत पैसामा किनबेच हुने अवस्थाले राजनीतिमा जवाफदेहिता कमजोर बन्दै जाने, जसको परिणामस्वरूप अहिलेको जेन–जी आन्दोलन भयो ।

आन्दोलनपछि पनि अवस्थामा तात्विक सुधार नआउनु अझ दुखद छ । मुलुकमा कुनै थिति बस्न सकिरहेको छैन । राजनीतिक दलहरु असफल भैसकेका छन् । अब देश कसले चलाउने भन्ने प्रश्न हरेक नागरिकको मनमा उठ्न थालेको छ । कसैले त देशलाई सम्हाल्न पर्यो नि भन्ने जबर्जस्त धारणा बन्न थालेको छ । यसै सेरोफेरोमा पूर्व राष्ट्रपति विद्या भण्डारीले व्यक्त गरेको विचारलाई राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । उनले मुलुकको तरल अवस्थालाई एउटा आकारमा ल्याउन दलहरु असफल भैसकेको र त्यसको लागि राजाको भूमिका आवश्यक हुनेविचार व्यक्त गरेकीछिन् । राजसंस्था पनि एउटा शक्ति भएको र मुलुकको संकट टार्न उक्त शक्तिको प्रयोग गर्नुपर्ने आशयको विचार उनले प्रकट गरेकीछिन् । यसलाई मानिसहरुले अस्वभाविक पनि मानेका छैनन् । 
निकट अतितमा भएका घटनाक्रमहरुबाट अब यो देश बचाउन आम नागरिकले विवेक प्रयोग गर्नुपर्ने आवश्यक्ता वोध भैसकेको छ । राजनीतिमा पारिवारिकीकरण हुँदा राज्यसत्ता तथा सत्ता संरचनामा परिवार वा वंशको वर्चस्व रहने तथा बढ्ने प्रक्रिया बढ्दै गयो । यसले दलहरुमा नेतृत्व, पद, अवसर, निर्णयहरू परिवारका सदस्य तथा आफन्तमार्फत प्रयोग हुने अवस्था सिर्जना भयो । यस्तो परिवेशमा नेतृत्वको उत्तराधिकारी परिवारभित्रैबाट बनाउने, योग्यता भएकालाई भन्दा पारिवारजनलाई प्राथमिकतामा राखेर काम गर्ने, योग्य र सक्षम व्यक्तिलाई अघि बढ्ने अवसरबाट वञ्चित गर्ने, पार्टीका निर्णय पारिवारको स्वार्थवरिपरि रहने गरी गर्ने काम राजनीतिमा पारिवारिकीकरण भित्र पर्छ । यसले सक्षम, योग्य, अनुभवी व्यक्ति र कार्यकर्ता तथा नागरिकमा चरम वितृष्णा पैदा गर्छ । यिनै कारणहरुले नागरिकको जेन–जी आन्दोलनको नामबाट विस्फोट भयो । 

यो बाहेक राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरणले पनि निकै प्रश्रय पाएको हो । त्यसका विभिन्न उदाहरणहरु छन् । जेनजि आन्दोलनमा कहिल्यै नदेखिएका अनुहारहरु आन्दोलन सफल भएपछि सतहमा आए र तिनीहरु नै हर्ताकर्ता बने । विभिन्न अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु जेनजिका असली प्रतिनिधि बनेर सत्ताको निकट पुगे । केही वर्षअघि निर्मला पन्तको बलात्कारपछिको हत्यामा हत्यारा पत्ता लाग्न सकेन । यो भनेको अपराधमा राजनीतीकरण हो । इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई आममाफी दिने काम पनि अपराधमा राजनीतीकरण हो । राजनीतिक स्वार्थ पूरा गर्न अपराधलाई बलिदान दिने प्रवृत्ति नौलो रहेन । यस्ता विषयहरूको समग्रताले समाज आक्रान्त बन्दै गयो । राजनीतिक दलहरूले सच्चिने होइन सक्किने बाटो रोजे, जसकारण समाजले परिवर्तनको बाटोमा पाइला चाल्यो र ढल्यो पुरानो सत्ता । 

पुरानो सत्ता ढलेर नयाँ बन्दा पनि मुलुकका सामु देखिएका समस्याहरुको समाधान हुन सकेको छैन । जसको कारण जेनजिका केही समूहहरु फेरि माइतिघर धाउन थालेका छन् । उनीहरु वर्तमान सरकारको राजीनामा मागिरहेका छन् । अवश्य पनि देशमा पुरानो सत्ता ढलेर नयाँ सरकार बनेको परिप्रेक्ष्यमा नयाँ आशाको कल्पना गरिनु अस्वभाविक होइन । अब यो देशले धेरै आन्दोलन र रक्तपात थेग्न सक्तैन । मुलुकको आर्थिक अवस्था निकै कमजोर छ । पटक–पटकका विपद् तथा आन्दोलनको सामना गरेको अनुभव छ देशसँग । भूकम्प, कोभिड सामना गर्दा शारीरिक र मानसिक रूपमा कमजोर भएको अवस्था छ । नेपालसँग सशस्त्र द्वन्द्वमा रहँदासमेत विपद् व्यवस्थापन गरेको अनुभव छ । अहिलेको आन्दोलन र ध्वंसात्मक अवस्थाले देशलाई जर्जर बनाएको छ । आजको आवश्यकता मुलुकमा स्थायी शान्ति र स्थिरता हो । त्यसको लागि बलियो राष्ट्रिय एकता सहीतको सर्व स्विकार्य सरका आवश्यक छ । वर्तमान संविधान र व्यवस्थामा पनि कैफियत भए तिनलाई सुधार गरेर अघि बढ्न जरुरी छ । सधैंको अस्थिरता र अशान्तिबाट मुलुकलाई पार लगाउन सक्ने को होला ? दल , राजा वा वैकल्पिक शक्तिहरु ?