प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा

२१ फागुनको चुनावमा सहभागी हुने संस्थागत निर्णय गरिसकेको नेपाली कांग्रेसको संस्थापन पक्ष भने प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जोडबल गरिरहेको छ । सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरू प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना भए पार्टीको १५औँ महाधिवेशन सार्न र आन्तरिक किचलो व्यवस्थापन गर्न सजिलो हुने उनीहरूको अनुमान छ । यसका लागि तत्कालीन सांसदहरूको हस्ताक्षर संकलन जारी छ । अन्य साना दललाई समेत पुनर्स्थापनाको पक्षमा ल्याउन संस्थापन पक्षका नेताहरू संवादमा छन् ।

यद्यपि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू भने पार्टी निर्णयबाट ब्याक हुन नहुने भन्दै आगामी चुनावमा जानुपर्ने पक्षमा छन् ।

२८ असोजदेखि १५ मंसिरसम्म बसेको केन्द्रीय समिति बैठकले वर्तमान राजनीतिको उचित निकास चुनाव नै भएको ठहर गर्दै चुनावमा भाग लिने निर्णय गरेको थियो । तर, सो निर्णयविपरीत कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित केही नेताले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै गत २१ मंसिरमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

जेनजी आन्दोलनपछि २७ भदौमा नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटन भएलगत्तै महामन्त्री थापालगायतले ताजा जनादेशमा जाने कुरालाई स्वागत गरेका थिए भने देउवा पक्षीय नेताहरूले पुनर्स्थापना गराउन सांसदहरूको हस्ताक्षर पनि संकलन थालेका थिए । तर, पार्टीभित्रै विरोध भएपछि हस्ताक्षर संकलन रोकिएको थियो ।

नेकपा एमालेले संस्थागत निर्णय गरेर प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै रिट दायर गरेको छ । पछिल्लो समय कांग्रेस–एमालेले बहुमत सांसदको हस्ताक्षरसहित पूरक निवेदन दिने तयारीसमेत गरेका छन् ।

एमालेका ७९ र कांग्रेसका ८८ गरी जम्मा १६७ जना तत्कालीन सांसदको हस्ताक्षर बुझाउने उनीहरूको तयारी छ । २७५ सदस्यीय सभामा बहुमत हुन १३८ सांसदको हस्ताक्षर आवश्यक पर्छ । तर, कांग्रेस महामन्त्रीद्वय गगन–विश्व पक्षधर सांसदहरूले हस्ताक्षर नगरेको अवस्थामा अन्य राजनीतिक दलहरूलाई पनि समावेश गराएर बहुमत जुटाइछाड्ने कसरतमा दुवै दल छन् । सोही विषयमा छलफल गर्न कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकहरू श्यामकुमार घिमिरे र महेश बर्तौलाबीच भेटवार्तासमेत भएको छ ।

पुनर्स्थापना भए प्रधानमन्त्री बन्ने देउवाको आस
जेनजी आन्दोलनपछि पुराना दलहरूलाई आगामी चुनाव चुनौतीपूर्ण हुने देखिन्छ । वैकल्पिक शक्तिहरू पनि चुनावसम्ममा एकीकृत भएर मैदानमा आउने तयारीमा छन् । यसो हुँदा पहिलो निसानामा नै कांग्रेस र एमाले पर्ने उनीहरूको बुझाइ छ ।

निर्वाचनमा आउने जनमतका कारण सत्ता र शक्ति गुम्न सक्ने आकलन गरेका देउवाले पुनर्स्थापना भए केही समय सत्तामा रहन पाइने आस गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भए पहिलो दल हुनुको नाताले आगामी सरकारको नेतृत्व आफैँले पाउने आसमा देउवाले पुनर्स्थापनाको पक्षमा जोडबल गरिरहेको टिप्पणी पार्टीभित्रै हुने गरेको छ ।

यस्तै, सभापति देउवा पार्टी राजनीतिमा पनि सक्रिय भइरहेका छन् । पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि महाधिवेशनको मिति तोक्नदेखि पार्टीका अन्य गतिविधि मिलाउन देउवा आफैँ सक्रिय छन् । यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने, पार्टीको विवाद समाधानमा पहलकदमी लिने काम गरेका छन् ।

शनिबार पनि उनले महाधिवेशनदेखि पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिको विषयमा कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरे ।