जेन–जी आन्दोलनमा घाइते पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने

जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। शुक्रबार सिंहदरबारमा घाइते पत्रकारहरूलाई नगदसहित सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गरेका हुन्।

जेन–जी प्रदर्शनको क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुङ्गाना, नेपालप्रेस डटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दङ्गाल घाइते भएका थिए। ती चारैजना पत्रकारलाई शुक्रबार मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री खरेलले राज्यले सञ्चारकर्मीहरूको अभिभावकत्व ग्रहण गर्ने बताउँदै घाइते पत्रकारहरूलाई सरकारको निरन्तर सम्पर्कमा रहन आग्रह गरे। उनले राज्यले नागरिकको उपचार खर्च व्यहोर्नु पर्ने दायित्व भएको उल्लेख गर्दै फ्रन्टलाइनमा खटिएका पत्रकारहरूको उपचारमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे।

मन्त्री खरेलले सरकारले वास्ता गरेन भन्ने खालका गलत सूचनाको पछि नलाग्न अनुरोध गर्दै सरकार सहयोगका लागि सधैँ तयार रहेको दाबी गरे। साथै, उनले घाइते पत्रकारहरूले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापनका लागि पत्रकार महासङ्घले पहल गर्नुपर्ने र त्यसमा सरकारको पूर्ण साथ रहने कुरामा समेत जोड दिए।