एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट लिए बिदा

 नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।

पाँच दशकको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालिन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले कहिल्यै नेता नबनेको उल्लेख गरेका छन् ।

‘म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ । समाज बदल्न हिंडेको वास्तबिक झोले कार्यकर्ता थिएँ,’ उनले लेखेका छन्, ‘मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ ।’ आफूले इमान, निष्ठा र समर्पणकासाथ काम गरेको जिकिर गर्दै उनले लेखेका छन्, ‘तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें, म ल्यांगल्यांगे कार्यशैलीको रह्यो ।’