नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकलाई अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बिहीबार गोरखापत्र संस्थानद्वारा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले देशको समग्र विकासका लागि यस्ता विमर्श उपयोगी हुने बताए ।
उनले जेन–जी जनआन्दोलनपछि मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै करिब ७६ जनाले ज्यान गुमाएको, २५ सयभन्दा बढी व्यक्ति घाइते भएको र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए । यस्तो अवस्थामा व्यापक पुनर्निर्माण आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने, ‘अब मुलुकलाई आर्थिक निर्माणको हिसावले अगाडि बढाउनुपर्छ । मुलुकलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा यस्ता डिस्कोर्स गर्दा उपयोगी हुन्छ भन्ने ठान्दछु । जेनजी जनआन्दोलनपछि करिब ७६ जनाले जीवन गुमाउनुपर्यो । करिब २५ सय मानिसहरु घाइते हुनुपर्यो । ८४ अर्ब भन्दा बढीको क्षति भएको अवस्था छ । त्यसैले हामी पुनःनिर्माणमा जुट्नुपर्ने छ ।’





