नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् । दुईवटा बुथ (१६ वटा मेसिन) को ४४३ मत गणना भइसक्दा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई ठुलो मतान्तरले पछाडि पारेका हुन् ।
ताजा परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले ३३३ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेलको पक्षमा ११० मत मात्र खसेको छ । यो प्रारम्भिक रुझानले अध्यक्षमा ओलीको पुनरागमनलाई सहज देखाएको छ ।
महासचिवमा शंक बलियो : पार्टीको ‘की-पोस्ट’ मानिने महासचिव पदमा शङ्कर पोखरेलले अग्रता कायमै राखेका छन् । ४४३ मतमध्ये पोखरेलले २४९ मत पाउँदा सुरेन्द्र पाण्डे १९४ मतका साथ उनलाई पछ्याइरहेका छन् । महासचिवमा ५५ मतको अन्तर देखिएको छ, जसले आगामी गणनालाई थप रोचक बनाउने देखिएको छ ।
उपाध्यक्षमा पृथ्वी सुब्बा र विष्णु पौडेलको सर्वाधिक मत : उपाध्यक्ष पदका लागि भइरहेको प्रतिस्पर्धामा पृथ्वी सुब्बा गुरुङ र विष्णु प्रसाद पौडेलबिच शीर्ष स्थानका लागि प्रतिष्पर्धा छ । गुरुङले ३५६ मतका साथ अग्रता लिँदा पौडेलले ३४९ मत प्राप्त गरेका छन् । त्यस्तै, रामबहादुर थापा ‘बादल’ ३०९, गोकर्ण विष्ट २५६ र रघु जी पन्त २५३ मतका साथ प्रतिस्पर्धाको अग्रपङ्क्तिमा छन् । गुरु प्रसाद बरालले २४२ र विन्दा पाण्डेले १६९ मत प्राप्त गरेका छन् ।
उपमहासचिव र सचिवतर्फ
उपमहासचिव पदमा लेखराज भट्ट २९३ मतका साथ सबैभन्दा अगाडि छन् । उनलाई रघुवीर महासेठ (२६७), योगेश भट्टराई (२६४) र विष्णु रिमाल (२२०) ले पछ्याइरहेका छन् ।
सचिव पदमा भने महेश बस्नेत र छविलाल विश्वकर्माबिच कडा टक्कर देखिएको छ । दुवैले समान ३११ मत प्राप्त गरी शीर्ष स्थान ओगटेका छन् । सचिवका अन्य उम्मेदवारहरूमा पद्मा अर्याल (३०५), शेरधन राई (३००), खगराज अधिकारी (२७९), हिक्मत कार्की (२७४) र यमलाल कँडेल (२५९) रहेका छन् । गोकुल बास्कोटाले १९२ र राजन भट्टराईले २३५ मत प्राप्त गरेका छन् ।





