नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् ।
बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे ।
सरकार बनेदेखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठुलो संवैधानिक सङ्कट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए ।
तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ । नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे ।
फरक प्रसङ्गमा नेता कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार शेर बहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए । उनले तोकिएको समयमा नै कांग्रेसको महाधिवेशन हुनुपर्ने धारणा राखे ।





