कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ

आयोगले आइतबार चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४६१ रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

अख्तियारले चालिसेसँगै उनकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर चालिसे र सन्दीप चालिसे तथा बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ।

आयोगले सोही बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजायको मागदाबी लिएको छ। मुद्दा दर्ताको प्रक्रिया चलिरहेको रेग्मीले बताए।

चालिसे २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। नगरप्रमुखको कार्यकालमा उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगको आरोप छ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको तर्फबाट विजयी चालिसे प्रतिनिधिसभाको अर्थ समितिको सभापतिसमेत बनेका थिए। उनी हाल निवर्तमान सांसद हुन्।