कांग्रेस कालिकोटले गर्‍यो १२ जना उम्मेदवार सिफारिस

 नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेदवार सिफारिस गरेको छ। नेपाली कांग्रेस कालिकोटका उपसभापति मीनबहादुर बोगटी का अनुसार मंसिर २४ गतेदेखि सुरु भएको कांग्रेस कालिकोटको बैठकले शनिबार उम्मेदवार सिफारिसको टुङ्गो लगाएको हो। बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।

प्रत्यक्षतर्फ पार्टी पूर्वसभापति हर्षबहादुर वम, महासमिति सदस्य नारायणप्रसाद भट्टराई, डिएलएका केन्द्रीय सदस्य दमनराज वम, केशरजंग वम र विद्यार्थी नेता जीवन सुवेदी लाई सिफारिस गरिएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ पूर्वपार्टी सभापतिद्वय कालीबहादुर सहकारी र मुक्तिप्रसाद न्यौपाने, महिला संघका केन्द्रीय सदस्य भावना शाही र छायाँ सुनार तथा भरत बि.क. लाई सिफारिस गरिएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि भने बिष्णुबहादुर शाही र दानबहादुर वम लाई सर्वसम्मत सिफारिस गरिएको उपसभापति बोगटीले बताए।