एमालेको बन्दसत्र सारियो, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको सिलसिलामा आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार, अहिले बिहान ९ः०० बजे महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बस्दैछ। यो बैठक पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको हो। 

केन्द्रीय कमिटी बैठक राखिएकाले आज बिहान ८ः०० बजेका लागि बोलाइएको महाधिवेशनको बन्दसत्रको समय पनि सारिएको छ। बन्दसत्र अब आज दिउँसो १२ः३० बजे सुरु हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिएका छन्। शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ र यस महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।