सर्जक चौलागाईं बने वनमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले चार नयाँ मन्त्री थप गरेकी छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीमा नियुक्तिका निम्ति उनीहरूका नाम सिफारिस गरिएको हो । थपिएका चारमध्येका माधव चौलागाईं जुम्लाका सर्जक हुन् । पछिल्लो समय ‘हिट’ भएको ‘जुरुक्कै कर्णाली’ गीत उनको उत्कृष्ठ सिर्जना मानिन्छ ।

जुम्लाको तातोपानी गाउँपालिकाको लाम्रागाउँका उनी ‘कुडा कर्णालीका’ नामक कर्णाली साहित्य महोत्सवका आयोजक पनि हुन् । उनीसहितको टोलीले हरेक वर्ष ‘कुडा कर्णालीका’ आयोजना गर्ने गरेको छ । त्यही टोलीले हरेक महिना काठमाडौंमा ‘कर्णाली डिस्कोर्स’ चलाउँदै आएको छ । उनले शिक्षाशास्त्र संकायअन्तर्गत स्वास्थ्य विषयमा मास्टर्स गरेका छन् । उनले ग्रामीण विकास ‘आरडी’मा पनि एमए गरेका छन् ।

हाल आफूले मानवशास्त्रमा एमफिल गर्दै गरेको चौलागाईंले बताएका छन् ।