जेनजी भन्दै सिटौलाले आफ्नै छोरालाई उम्मेदवार बनाउन खोजेपछि…

 नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृह क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिस प्रक्रियासँगै पार्टीभित्रको विवाद सतहमै पोखिएको छ ।

आगामी निर्वाचनका लागि क्षेत्रीय समितिले नेता सिटौलाका छोरा श्यामलाई जेनजीको प्रतिनिधि भन्दै सिफारिस गरेपछि असन्तुष्ट पक्षले विद्रोहको चेतावनी दिएका छन् । 

क्षेत्रीय कार्यसमितिले केन्द्रमा सिफारिस गरेका ६ जनाको नाम सार्वजनिक भएसँगै पुराना र त्यागी नेताहरूलाई बैठकस्थलबाटै निकालिएको घटनाले कांग्रेस वृत्त तातेको छ । कांग्रेस झापा–३ ले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ (प्रक्रियागत रूपमा नाम नखुलाइए पनि सूचीमा रहेका) ६ जनाको नाम सिफारिस गरेको छ, जसमा कृष्ण प्रसाद सिटौलाका छोरा श्याम सिटौलाका साथै नेताहरू नवीन विमली, भगिरथ पोद्दार, शर्मिला अधिकारी, टीकाराम ढकाल र सिताराम खड्का छन् । 

उम्मेदवार छनोट गर्न बसेको बैठकमा सहभागी हुन गएका कांग्रेसका पुराना नेता तथा महासमिति सदस्यहरूलाई ‘माथिल्लो परिपत्र’को हवाला दिँदै बाहिर निकालिएको छ । असन्तुष्ट पक्षका नेता ज्ञानमणि भुर्तेलले क्षेत्रीय सभापति गणेश पोखरेलले क्षेत्रीय कमिटी र महाधिवेशन प्रतिनिधिबाहेक अरू बस्न नपाउने भन्दै पुराना नेताहरूलाई बैठकबाट बाहिरिन बाध्य पारेको बताए । 

बैठकबाट निकालिनेमा ३६ सालदेखि जेल नेल भोगेका नेता ज्ञानमणि भुर्तेल, खान्दानी कांग्रेस नेता तोया गड्तौला, सशक्त क्षेत्रीय प्रतिनिधि प्रमोद न्यौपाने र केन्द्रीय विभाग सदस्यसमेत रहेका अधिवक्ता भरत प्रसाईंलगायत छन् । 

‘हामी पटक–पटक पक्राउ पर्ने, सात सालको लडाइँ लड्ने परिवारका मान्छे हौँ । तर आज हिजो माओवादी र एमालेबाट आएकाहरू हालीमुहाली गर्दैछन् । झापा–३ लाई सिटौलाले आफ्नो ‘कामत’ (निजी फार्म) बनाए, त्यहाँका कार्यकर्तालाई हरूवा–चरुवा जस्तो व्यवहार गरियो,’ उनले भने । 

नेता सिटौलाले आफू प्रत्यक्ष नउठ्ने बहाना बनाउँदै रणनीतिक रूपमा छोरालाई अघि सारेको सो पक्षको दाबी छ ।

सिटौलाले ‘मेरो नाम सिफारिस नगर्नु, नयाँ पुस्ता (जेनजी) लाई अगाडि बढाउनु’ भन्ने निर्देशन दिएको र सोही निर्देशन बमोजिम छोराको नाम सूचीमा पारिएको आरोप छ । ‘बाउबाट छोरामा सत्ता सर्नु जेनजी पुस्ता होइन,’ भुर्तेलले भने, ‘सिन्डिकेट लगाएर १, २, ३, ४ नम्बरमा कसले बोल्ने भनेर सेटिङ मिलाइयो र एक स्वरमा श्याम सिटौलाको नाम अनुमोदन गराइयो ।’ 

साथै सिटौला निकट स्रोतले ‘कृष्ण सिटौलाको हकमा पछि पुनर्विचार गरियोस्’ भन्ने व्यहोराको माइन्युट वा निर्णय गराएर चोर बाटोबाट उनलाई पनि सुरक्षित राख्ने प्रपञ्च रचेको असन्तुष्ट पक्षको दाबी छ । 

उता क्षेत्रीय सभापति गणेश पोखरेलले भने असन्तुष्ट पक्षको आरोपलाई ‘अनावस्यक इस्यु’ भन्दै खारेज गरेका छन् । उनले केन्द्रको परिपत्र अनुसार महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिका पदाधिकारीलाई मात्र बैठकमा राख्न मिल्ने भएकाले भिडभाड कम गर्न अन्यलाई बाहिर पठाएको जिकिर गरे । 

‘६ सय भन्दा बढी क्षेत्रीय प्रतिनिधि छन्, सबैलाई राखेर बैठक सम्भव हुँदैन,’ पोखरेलले भने, ‘उहाँहरू तोकिएको क्राइटेरियामा नपरेकोले बस्न नपाउनु भएको हो । उहाँहरूले सधैं पार्टीलाई गाली गर्ने र आवेग पोख्ने काम मात्र गर्नुहुन्छ ।’ 

सिटौला पुत्र श्यामको सिफारिस र पुराना नेताहरूको बहिर्गमनले झापा–३ मा कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । असन्तुष्ट पक्षले यसलाई ‘कांग्रेस सिध्याउने खेल’को संज्ञा दिएका छन् ।