नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुँदै

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा विस्तार कार्यलाई तीव्रता दिने भएको छ ।

सडक विभागको आयोजना निर्देशनालय एडीबीले एक सार्वजनिक सूचना जारी गर्दै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित विभिन्न सडक आयोजनाहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

निर्देशनालयकाअनुसार पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत मुग्लिन बजारदेखि त्रिशुली पारी (गोरखा तर्फ) बाट मर्स्याङ्दी जलविद्युत आयोजनाभन्दा पश्चिमसम्म २ लेनको नयाँ सडक निर्माण गरिनेछ ।

साथै, सो स्थानभन्दा पश्चिम आबुँखैरेनीसम्मको हालको राजमार्गलाई चौडा गरी ४ लेनको बनाइने योजना रहेको छ ।

यस्तै महेन्द्र राजमार्ग अन्तर्गतको नारायणगढ–हेटौँडा सडक खण्डमा पनि व्यापक स्तरोन्नति हुने भएको छ। विशेष गरी गोन्द्राङ्ग–टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो ‘फ्लाइओभर’  निर्माण गरिने भएको छ ।

गोन्द्राङ्ग–टिकौली जंगल मा २ किलोमिटरको फ्लाइओभर सहित राप्ती नदी पुलसम्म खुला तथा जंगल क्षेत्रमा ४ लेन सडक सहित विस्तार गरिनेछ । 

साथै बस्ती तथा बसोबास क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप १/१ लेनको सर्भिस लेन र शहरी क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप २/२ लेनको सर्भिस लेन, ड्रेन, फुटपाथ, पैदलयात्रु हिँड्ने पुल र सवारी साधन वारपार गर्ने पुलहरू निर्माण गरिने जनाएको छ । 

सडक विस्तार र स्तरोन्नतिको कार्य सुरु भइसकेको भन्दै आयोजना निर्देशनालयले सडकको सीमा अतिक्रमण गरी घर, टहरा तथा अन्य संरचना निर्माण नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

सहज निर्माण कार्यका लागि सडक क्षेत्रमा पर्ने विद्युत् पोल, ढल, खानेपानी एवम् अन्य सार्वजनिक संरचनाहरू स्थानान्तरण गर्न र थप संरचना नबनाउन सम्बन्धित सबैमा सूचनामार्फत आग्रह गरिएको छ ।