राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते चुनाव गर्ने निर्णयले मुलुकलाई निकास होइन जटिलता तर्फ लाने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भएको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि चुनाव गर्ने निर्णयले मुलुकलाई निकास र समाधान होइन थप जटिलता तर्फ लाने बताएका हुन् ।
उनले भने, ‘अहिले जुन विषम परिस्थितिकोबीच देश अगाडि बढी रहेको छ । त्यति ठूलो विद्रोह, विध्वंसपछि जुन परिवर्तन देशले प्राप्त गर्नुपर्ने हो त्यसको बदलामा एक थान प्रधानमन्त्री परिवर्तन गर्ने र असफल भएको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि चुनाव गर्ने जुन निर्णय भएको छ । त्यसले मुलुकलाई निकास र समाधान दिने होइन थप जटिलताहरू पैदा गर्ने र अहिले देखिएका समस्यालाई अलि पर ठेल्ने काम मात्र गर्छ भन्ने हाम्रो धारणा छ ।’
अहिलेको अवस्थामा अथवा यथास्थितिमा चुनाव समस्याको समाधान होइन भन्ने कुरा प्रस्ट भएको पनि उनको भनाई छ ।
यस्तै, उनले जनताको बीचमा चरम रूपमा अलोकप्रिय साबित भएको र आफ्नो परम्परागत पार्टीको नाम समेत लिएर जनतामा जान सकिएन भनेर नाम पनि परिवर्तन गरेको अवस्थामा मुलुकको स्वाधीनताको रक्षा गर्ने पार्टी राप्रपा मात्रै भएको पनि बताए ।





