मानव अधिकार सुनिश्चितता राज्यको जिम्मेवारी होः प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७६औँ विश्व मानवाधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मानवअधिकार प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार भएको र त्यसको सुनिश्चितता राज्यको जिम्मेवारी हुने बताएका छन्।

उनले जारी गरेको सन्देशमा दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारु तथा पिछडिएका क्षेत्रका समुदायहरूले अझै पनि विभेद, हिंसा र अवसरको अभाव झेलिरहेको उल्लेख छ। यस्ता समुदायका अधिकार सुरक्षित नगरी समावेशी लोकतन्त्र र समानतामूलक समाज सम्भव नहुने प्रचण्डको भनाइ छ।

सन्देशमा इतिहासका विभिन्न राजनीतिक चरणहरू—जनयुद्ध, १९ दिने जनआन्दोलन र अन्य आन्दोलनहरूको बलिदानपछि प्राप्त संविधानले मानवअधिकारलाई संस्थागत गरेको भए पनि यसको व्यवहारिक कार्यान्वयन चुनौतीपूर्ण नै रहेको बताइएको छ।

विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा पीडितहरू वर्षौँदेखि प्रतीक्षारत रहेको र सत्यनिरूपण तथा क्षतिपूर्तिको प्रक्रिया चाँडो अघि बढाउन राज्य गम्भीर हुन आवश्यक रहेको माग गरिएको छ।

प्रचण्डले सामाजिक न्याय, समानता, समृद्धि र सुदृढ लोकतन्त्र निर्माणका लागि मानवअधिकारको पूर्ण कार्यान्वयन अनिवार्य रहेको उल्लेख गर्दै मानवअधिकार दिवसले सबैलाई विभेद र दमनविरुद्ध एकताबद्ध भएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।