अदालतको आदेशपछि मनोज सिलवालको प्रतिक्रिया : म बिदामा छु

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि पदमुक्त भएका मनोज सिलवालले अदालतको निर्णय आएदेखि नै आफू बिदामा बसिसकेको बताएका छन् ।

सोमबार सर्वोच्चको फैसला आएलगत्तै आफू जिम्मेवारीबाट अलग भएको उनले रातोपाटीलाई प्रतिक्रिया दिए । ‘सर्वोच्च अदालतको आदेश आएपछि म हिजोदेखि नै कार्यालय गएको छैन, म बिदामा छु,’ सिलवालले भने ।

उनले अब प्राधिकरणको नेतृत्व पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले नै सम्हाल्ने र आफूले त्यसमा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

सिलवालले अदालतको आदेश विपरीत आफू पदका लागि मरिहत्ते गर्ने व्यक्ति नभएको प्रतिक्रिया दिए । 

उनले सरकारले योग्य ठानेर आफूलाई जति समय जिम्मेवारी दियो, त्यो समयमा प्राधिकरणको हितमा काम गरेको दाबी गरे । परिस्थितिजन्य रूपमा जिम्मेवारीमा आएको र छोटो समय भएकाले परिणाम नै देखिने गरी काम गर्न नसकिए पनि प्राधिकरणलाई लयमा फर्काउने प्रयास गरेको उनको भनाइ छ।

‘एउटा समय थियो, दिएको जिम्मेवारीअनुसार मैले गर्न सक्ने कामहरू गरेँ। छोटो समय भएकाले खासै परिणाम देखिने गरी काम गर्न सकिएन । तर एउटा जग बसाल्ने प्रयास गरेँ,‘ सिलवालले भने । 

प्राधिकरण बिस्तारै लयमा फर्किँदै गरेको अवस्थामा अदालतको आदेश आएको उनको भनाइ थियो । 

संस्थामा व्यक्तिहरू परिवर्तन भइरहने तर संस्था र ग्राहक स्थायी हुने भएकाले सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा उनले जोड दिए।

 ‘व्यक्ति त परिवर्तन भइरहन्छ, तर संस्था र ग्राहक त उही रहन्छन् नि। त्यसैले उनीहरूको सेवामा समर्पित भएर काम गर्नुपर्छ,’ उनले भने।

सरकारले गत असोज ५ गते हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यको पक्षमा परमादेश जारी गर्दै उनलाई पुनर्बहाली गर्न आदेश दिएको हो।

अदालतले शाक्यलाई हटाउने निर्णय न्यायिक सिद्धान्तको प्रतिकूल भएको र उनको सहमति नलिई नियुक्ति गरिएको उल्लेख गरेको छ । शाक्य भने अदालतको आदेश पत्र पाएसँगै प्राधिकरणमा पदवहालीका लागि जाने तयारीमा छन् ।