एमाले महाधिवेशनमा पोखरेलको प्रस्ताव: नेतृत्वमा दुई कार्यकालको सीमा

 नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनको अवधारणा पत्रमा पार्टीका प्रमुख पदमा लगातार दुई कार्यकालको समय सीमा तोकिनुपर्ने प्रस्ताव गरेका छन् ।

KP Oli VS CPN UML Real team2025 12 08 15 50 20

पोखरेलले दशौँ महाधिवेशनदेखि हालसम्मको पार्टी कामको समीक्षा गर्दै पार्टीले गरेका काम, लिएका निर्णय, प्राप्त उपलब्धि र भोगेका चुनौती तथा कमी-कमजोरीको बस्तुनिष्ठ समीक्षा आवश्यक भएको औँल्याए।

उनले महाधिवेशनलाई केवल पद परिवर्तन वा नेतृत्वको अनुमोदनमा सीमित नगर्नुपर्ने प्रस्ट पारे। अवधारणा पत्रमा उनले भनेका छन्, ‘हामीले पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवादलाई मार्क्सवादको सिर्जनात्मक प्रयोगको निचोडका रूपमा स्थापित गरिरहेका छौँ।’

पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरण, सिद्धान्त, नीति र विधानको पालना तथा कार्यान्वयनमा देखिएको समस्यालाई पनि औँल्याए। उनी अनुसार नेतृत्व हस्तान्तरणमा अवरोध, स्वैच्छिक अवकाशको अभाव र कार्यकालको स्पष्ट सीमा नहुनुका कारण लामो समयसम्म नेतृत्वमा टिकिरहनु र त्यसका लागि अस्वस्थ प्रतिस्पर्धा तथा गुटबन्दी हुने गरेको छ।

अवधारणा पत्रमा पोखरेलले भनेका छन्, ‘नेतृत्वको सहज हस्तान्तरणमा बाधा र अस्वस्थ प्रतिस्पर्धा रोक्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको सीमा तोक्न आवश्यक छ। यसले नयाँ नेतृत्वको विकासका लागि अनुकूल वातावरण निर्माण गर्नेछ र गुटगत र षड्यन्त्रमूलक प्रवृत्तिलाई निरुत्साहित गर्नेछ।’

पोखरेलले पार्टीभित्र फरक मतप्रति सहिष्णुता, स्वस्थ छलफल र निर्णय कार्यान्वयन सुनिश्चित गर्न पनि महत्त्व दिइएको बताएका छन्।