नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयास गरेको बताउनुभएको छ ।
सरकारले राजनीतिक दलका नेताहरूलाई अनावश्यक धरपकडको योजना बनाएको बताउँदै थापाले यसले देशलाई थप मुठभेटको अवस्थामा लैजाने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला गतिविधि त्यसतर्फ उन्मुख भएको उहाँको धारणा छ ।
‘सरकारले अनाहकमा दल र नेताहरूमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको सङ्केत हालै प्रधानमन्त्रीको भेटघाट र गतिविधिबाट प्रस्ट देखिन थालेको छ’, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ ।
सरकारकै निर्देशनमा सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृह मन्त्री रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिइरहेका उहाँको भनाइ छ । ‘सुदन गुरुङले केपी ओली र रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिएछन् भन्ने पनि सुनियो, यदि यस्तो अस्थिर चरणतिर देश धकेलियो भने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन’, उहाँले प्रधानमन्त्रीलाई चेतावनी दिनुभएको छ ।
उहाँले अहिले देश विदेशीको इसारामा चलेको बताउँदै देश कुनै अमूर्त शक्तिको डिजाइन र अभिमानले नचल्ने स्पष्ट पार्नु भएको छ । ‘हामी मरे त देशको झण्डा ओढेर मर्नेछौँ, तिमीहरू मरेऊ भने ओढाउने विदेशीको झण्डा ओढाउन पक्कै मिल्दैन, देश कुनै अमूर्त शक्तिको डिजाइन र अभिमानले होइन, जनताका भावनाले चल्छ, यो कुरा सत्ता धान्न बस्नेहरूले नबिर्सँदा राम्रो’, बस्नेतको चेतावनी छ ।





